STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गिट्टी कुटेर परिवार पाल्न विवश छन्, शारीरिक अपाङ्ग विष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आउनुभएको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उहाँले विगत सात वर्षदेखि गिट्टी कुटेर आफ्नो परिवारको जीविकोपार्जन चलाउँदै आउनुभएको छ । विसं २०६९ मा ट्र्याक्टर दुर्घटना हुँदा उहाँले दाहिने खुट्टा गुमाउनुभएका थियो । परिवारमा २५ वर्षीया श्रीमती सरिता, १४ वर्षीय छोरा कपिल र अर्का ११ वर्षीय छोरा विमल रहेका छन् । कपिल कक्षा ७ र विमल कक्षा ४ मा अध्ययनरत छन् । उहाँलाई पछिल्लो समय दैनिक गुजारा चलाउन धौ धौ परेको छ । खेतीपातीबाहेक आम्दानीको स्रोत नभएका विष्ट परिवार अहिले आर्थिक गर्जो टार्न बुनीबुतो र ज्यालादारीको काम गर्दै आएका छन् । युवावस्थामै अपाङ्ग बन्नुभएका उहाँ अहिले गाउँपालिकाको लगानीमा निर्माणाधीन सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको कार्यालय भवनमा आवश्यक गिट्टी कुट्नुहुन्छ । निर्माणस्थल तथा बाहिर हिँडडुल गर्न वैशाखीको सहारा लिनुपर्ने उहाँ दिनभर गिट्टी कुटेर दैनिक रु ४५० सम्म कमाउनुहुन्छ । “एउटा खुट्टा नभएकाले उठेर काम गर्न मिल्दैन”, आफ्नो छेउमा वैशाखी तेस्र्याएर गिट्टी कुटिरहनुभएका उहाँले भन्नुभयो, “उपभोक्ता समितिले खाना र ढुङ्गा दिएर प्रतिटिन कुट्दा रु ३० दिन्छ । १० देखि १५ टिनसम्म गिट्टी तयार गर्दा रु ४५० सम्म कमाइ हुन्छ । यो पैसाले दुई छोराको पढाइका लागि आवश्यक कापी, कलम र पोशाक खरीद गर्दै आएको छु ।” हिँडडुल गर्न नसक्ने तेजबहादुरलाई उहाँको नजिकै ढुङ्गा थुपारीदिने गरिएको स्थानीयवासी एवं सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्प निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश कार्कीले बताउनुभयो । “तेजबहादुर गिट्टी कुट्नेबाहेक अन्य काम गर्न सक्नुहुन्न”, उहाँले भन्नुभयो, “आफूले जिम्मा लिएको हरेक निर्माणको काममा अरुलाई नदिइकन उहाँलाई नै गिट्टी कुट्ने कामको जिम्मा दिने गरेको छु ।” गाउँमा हुने विकास निर्माणका कामबाहेक अन्य समयमा समेत गिट्टी नै कुटेर बस्नुहुने तेजबहादुरले तयार पारेको गिट्टी गाउँमै निर्माण गरिने घर तथा कार्यालयमा खपत हुने गरेको पाइएको छ । क्षतिपूर्तिवापत पाएको रकमले खरीद गरेको बारीसमेत खनजोत गर्न नमिलेपछि बाँझै रहेको विष्ट परिवारले जनाएका छन् । लेकाली क्षेत्रमा पर्ने चिसापानीस्थित पाखो बारीसमेत बाँझै बसेपछि दैनिक हातमुख जोड्न आफू पनि छिमेकीकामा बुनीबुतोको काम गर्न जाने गरेको सरिताले बताउनुभयो । “घरको अभिभावक अर्थात् कमाइ गर्ने व्यक्ति अपाङ्ग हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दैनिक छाक टार्नकै लागि भए पनि अर्काकोमा बनी गर्न जाने गरेकी हुँ ।” सीपमूलक तालीमसमेत अहिलेसम्म आफूले लिन नपाएको तेजबहादुरले गुनासो गर्नुभयो । “राज्यले दिने अपाङ्गता भत्तावापत ‘ख’ वर्गको मासिक रु एक हजार ६०० चार महिनाअघिदेखि पाउन थालेको छु”, उहाँले भन्नुभयो, “गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि तथा विस्तारका लागि बजेट आउँछ भनेको सुनेको छु । तर अहिलेसम्म उक्त तालीमहरुमा सहभागी गराउनेबारे कसैले आफूलाई सूचना दिएको छैन ।” अपाङ्गता भएका व्यक्तिका लागि गाउँपालिकामा आउने बजेटको कार्यक्रम गाउँपालिकास्तरीय अपाङ्ग सङ्घमार्फत सञ्चालन गर्ने गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो । “गाउँपालिकामा आउने कार्यक्रम अपाङ्ग सङ्घलाई जिम्मा दिने गरिएको छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा बनेको समितिलाई जिम्मेवारी दिएकाले उतै गुनासो गर्दा राम्रो हुन्छ ।” छ वडा रहेको उक्त गाउँपालिकामा कति अपाङ्गता भएका व्यक्ति छन् भन्नेमा गाउँपालिका जानकार छैन ।
Categorized in राष्ट्रिय