STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टुँडिखेल खुला गर्नुपर्नेमा कामपा सकारात्मक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै रहेको जनाइएको छ । करीब दुई हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । रासससँग कुरा गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने भन्दै त्यस विषयमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “दरबार हाइस्कूल र धरहरा पुनः निर्माण वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।” सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले पुनःनिर्माणको सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताउनुभयो । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीहरुको भनाइ छ । अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हँुदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धँुवामुक्त र हरियालीयुक्त महानगरको अभियानमा छ”, प्रमुख शाक्यले भन्नुभयो, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।” उहाँले आफु प्रमुख निर्वाचित हुनुभन्दा अघि नै त्यहाँ बसपार्क रहेको बताउनुभयो । “त्यहीँ बसपार्कमा अस्थायीरूपमै सामान्य मर्मत गर्दा त्यहाँ पनि महानगरपालिकाले स्थायी बसपार्क बनायो भनेर ठूलो हो–हल्ला गर्ने काम भयो”, उहाँले भन्नुभयो, “टुँडिखेललाई स्थायी बसपार्क बनाउने अभियानमा महानगरपालिका हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहने छैन ।”
Categorized in राष्ट्रिय