STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार

थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास होमस्टेमा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा बास बस्नका लागि पुग्ने पर्यटकलाई थारू समुदायका मौलिक परिकारका रुपमा रहेका माछा, घुँगी, सिध्रो, ढिक्री, पतौला, फुलौरा र स्थानीय जातका कुखुराको मासुका परिकारसँगै सखिया नृत्य देखाइने गरिएको छ । थारू समुदायले बस्नका लागि प्रयोग गर्दै आएका परम्परागत शैलीका घरमा पर्यटकलाई बास बस्ने व्यवस्था गरिएको छ । बाहिरबाट पुराना शैलीका घरहरु देखिने गरिए पनि घरभित्र पर्यटकलाई बस्नका लागि आधुनिक शैलीका शयन कक्ष, शौचालय र स्नान घरको व्यवस्था गरिएको छ । एक कोठामा दुईजना पर्यटकलाई सहज रुपमा बस्नका लागि व्यवस्था गरिएको खयरकन्द्रा सामुदायिक होमस्टेका सचिव दान सिंह चौधरीले बताउनुभयो । “परम्परागत शैलीका घर, थारू संस्कृति, रहनसहन, पहिरनलगायत हेर्नकै लागि टाढाबाट पर्यटक पुग्ने गरेका छन्”, सचिव चौधरीले भन्नुभयो, “काठमाडौँ, पोखरा, पाल्पा, गुल्मी, बुटवलदेखि भारतका विभिन्न क्षेत्रबाट पर्यटक पुग्न थालेका छन् ।” जिल्लाकै आन्तरिक पर्यटकको रोजाइमा होमस्टे पर्न थालेको छ । “होमस्टेमा पुग्ने पर्यटकलाई घरमा आउने पाहुना झँै सत्कार गर्छौं । एक दिनका लागि बस्न आउने पर्यटक तीन–चार दिन बसेर जाने गरेका छन्”, होमस्टेका अध्यक्ष पुरन चौधरीले भन्नुभयो, “दक्षिण भारतबाट थारू समुदायको कलासंस्कृति र रहनसहनबारे जानकारी लिएर एक टोली पुगेर फर्किएको छ ।” मासिक रुपमा होमस्टे सञ्चालकले रु २० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्यटकले माग गरेका परिकार मेनुअनुसार उपलब्ध गराउने व्यवस्था गरिएको छ । भात र स्थानीय जातका कुखुराको मासु पर्यटकको रोजाइमा पर्ने गरेको छ । थारू समुदायका महिलाले लगाउने कलात्मक ढङ्गले तयार पारिने बुट्टेदार पोसाक अन्य क्षेत्रका थारू समुदायको भन्दा फरक रहेकाले पनि आन्तरिक र बाह्य पर्यटकको चासोका रुपमा रहेको छ । होमस्टेमा पुग्ने पर्यटकलाई थारू समुदायका अगुवाले संस्कृति, खानपानसँगै परम्परागतकालमा माछा मार्ने, सिकार गर्नेलगायत कलाकौशलका बारेमा समेत बेलिविस्तार लगाउने गरेका छन् । “थारू समुदायको संस्कृति जगेर्ना गर्ने र प्रचारप्रसार गर्ने माध्यम होमस्टे बनेको छ”, वसन्ती चौधरीले भन्नुभयो, “संस्कृतिबारे होमस्टेमा बास बस्नका लागि पुग्ने पर्यटकलाई जानकारीसँगै परम्परागत नृत्यहरु पुरानै शैलीमा देखाइने गरिने भएकाले यसबारे नयाँ पुस्ताले संस्कृतिबारे जानकारी पाउन थालेका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन थालेपछि संस्कृति संरक्षणमा टेवा पुगेको छ ।” थारू समुदाय संस्कृतिमा समृद्ध भए पनि धेरै संस्कृतिसँग जोडिएका नृत्य र गीतहरु हराउँदै जान थालेका थिए । होमस्टे सञ्चालनमा आएपछि संस्कृति संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ । आठवटा घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा बास बस्ने घरहरु निर्माणका लागि राष्ट्रिय प्रकृति कोषले रु १३ लाख अनुदान रकम प्रदान गरेको छ । तीमध्ये रु ५० हजार कार्यालय सञ्चालन र रु ५० हजार भ्रमणमा खर्च गरिएको छ । बाँकी रु १२ लाख रकम होमस्टे सञ्चालनका लागि आठ परिवारले बाँडेका छन् । होमस्टे सञ्चालकहरुले आफ्नै लगानीमा सामुदायिक भवन निर्माणका लागि रु १६ लाख रकममा दुई कट्ठा जग्गा खरिद गरेका छन् । सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद गर्न होमस्टे सञ्चालन गर्दै आएका आठ परिवारले रु दुई लाखका दरले रकम व्यहोरेका छन् । खरिद गरिएको जग्गामा तारागाउँ विकास समितिले प्रदान गरेको रु चार लाख रकम खर्चेर भवन निर्माणको कार्य शुरु गरिएको छ । “भवन निर्माणका लागि नगरपालिका कार्यालय र वडा कार्यालयलाई गुहारेका छौँ”, होमस्टेका अध्यक्ष चौधरीले भन्नुभयो, “आश्वासन पाइए पनि रकम हालसम्म पाइएको छैन ।” होमस्टेका लागि नाच टोली गठनसँगै पर्यटकका लागि पस्कने परिकारबारे तालीम लिने कार्य भइसकेको छ । होमस्टेका माध्यमबाट रोजगारी सिर्जना गर्न, लोप हँुदै गएको संस्कृति जोगाउन, मौलिक पहिचान स्थापित गर्न र ऐतिहासिक वस्तुहरुको संरक्षणमा योगदान दिनका लागि होमस्टे सञ्चालन गरिएको हो । जोनापुर थारू समुदायको पुरानो गाउँ हो । विसं १९६५ मा यो गाउँ बसेको बूढापाकाहरुको भनाइ छ । जोनापुर गाउँमा थारू, ब्राह्मण, दलित र क्षेत्री गरी १६२ परिवारको बसोबास रहेको छ । परम्परागत थारू संस्कृतिको धरोहरका रुपमा जोनापुर गाउँ चिनिने गर्दछ । जोनापुरको दक्षिणी भेग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खैकन्द्रा नाम गरेको ठुलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट यस होमस्टेको नामकरण गरिएको छ । ताल कमलको फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ । ताल पुरिँदै जान थालेकामा होमस्टे सञ्चालकले चिन्ता व्यक्त गरेका छन् । ताल व्यवस्थापनसँगै निकुञ्जमा पर्यटक प्रवेशका लागि नाका खोल्नका लागि होमस्टे सञ्चालकहरुले मागसमेत गरेका छन् । होमस्टेमा आउने पर्यटकलाई निकुञ्ज घुम्ने व्यवस्था मिलाइए अझै पर्यटक बढ्न सक्ने देखिएको छ । कोलाहलबाट टाढा एकान्तमा रम्न चाहनेका लागि होमस्टे गन्तव्यका रुपमा रहेको छ । होमस्टे पुग्नका लागि नगरपालिकाको झलारी बजारदेखि दक्षिण छ किलोमिटरको दूरी तय गर्नुपर्दछ । दुई किलोमिटर सडक कालोपत्र गरिएको छ भने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । झलारी बजारबाट अटो जीपलगायत चढेर २० मिनेटमा होमस्टे भएको स्थानमा पुग्न सकिन्छ । छिट्टै होमस्टेको विधिवत् रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
Categorized in राष्ट्रिय