मध्यपुरथिमिको ऐतिहासिक पोखरीको गुरुयोजना निर्माण
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाले रु ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ । पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभयो ।
व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसला गरेपछि नगरपालिकाले संरक्षण शुरु गरेको हो ।
नगरपालिकाका प्रमुख श्रेष्ठले यो पोखरीको संरक्षणका लागि नगरपालिकाले रु ७५ लाख बजेट विनियोजन गरेको बताउँदै भन्नुभयो, “यो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने छौँ ।”
नगरपालिकाले पोखरीको सिमाङ्कन सकेर वरिपरि पर्खाल लगाउने काम शुरु भएको बताउँदै पोखरीलाई आकर्षक बनाइने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।
Categorized in राष्ट्रिय