STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महाशिवरात्रिमा पशुपति आएका साधुलाई बाटो खर्चसहित बिदाइ

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षको माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो ।

महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए ।

तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा गरिएको हो । ती साधुसन्तहरुलाई कोषले ९ श्रेणी छुट्याएको थियो ।  बरिष्ठताको आधारमा श्रेणी छुट्याएर रुदाक्षको मालासहित बिदा गरिएको  प्रवक्ता अधिकारीले बताए ।  उनीहरुलाई  श्रेणी अनुसार  विभिन्न र‌ंगको कार्ड दिइएको थियो ।

पहिलो श्रेणीका साधुसन्त अन्तर्गत सभापति, अखडाका संरक्षकलाई गुठीले ९ हजार र कोषले ४५ सय थपेर १३ हजार ५ सय रुपैयाँ दिएर बिदा गरेको छ ।

दोस्रो श्रेणीको श्री महन्त सेक्रेटटी, श्री महन्त थानापति, रम्तापेचका श्री महन्थलाई गुठीले ५१ सय, कोषले २५५० गरी ७ हजार ५५० रुपैयाँ दिएको थियो भने तेस्रो श्रेणीको धानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्टकौशल महन्तलाई ३६ सय गुठी र १८ सय कोषले गरी ४४सय दिइएको थियो ।

त्यस्तै जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोवारीलाई कोष र गुठी गरी ३६ सय, नागावावा, महन्त, अवधुतानीलाई २६ सय ५०, अवधुत (आधा सन्न्यास)लाई२४ सय, महापुरुषलाई १६५०, ब्रम्हचारी, भेषधारीलाई ८५१ र मगन्ते नारायनलाई ३ सय रुपैयाँ दिई बिदाइ गरिएको कोषले जनाएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । 

साधुसन्तको दक्षिणाका लागि ८ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । गत वर्षहरु भन्दा  यस वर्ष पशुपतिनाथमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ ।

Categorized in राष्ट्रिय