कीर्तिपुरका बिरामीको रिपोर्ट ‘नेगेटिभ’
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार
काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पताल रिफर गरेकी कल्पना लावतीको परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पताल स्रोतले जनाएको छ ।
हिलटाउन स्कुलका सुरक्षागार्ड दीपक लावतीकी बहिनी कल्पना गत चैत ७ गते दुबईबाट फर्किएकी थिए । कीर्तिपुर १ बाघभैरव क्षेत्रको हिलटाउन स्कुलमा कार्यरत दाजुको कोठामा बसिरहेकी उनीलाई उच्च ज्वरो, टाउको दुखाइ र श्वासप्रश्वासमा समस्या आएपछि कीर्तिपुर हस्पिटल लगिएको थियो । त्यहाँबाट कोरोनाको आशंकामा पाटन अस्पताल रिफर गरिएको थियो ।
उनको नेगेटिभ रिपोर्ट मंगलबार सार्वजनिक भएपछि कीर्तिपुरका बासिन्दाले राहतको सास फेरेका छन् ।
यसअघि कीर्तिपुरबाट कोरोना आशंकित बिरामी भेटिएको समाचार प्रकाशित भएपछि त्यहाँका स्थानीय भयभित बनेका थिए । त्यहीमाथि पाटनमा उपचाररत लावतीको कोरोना संक्रमणबाट मृत्यु भएको भ्रामक समाचार सामाजिक संजालमा फैलिएपछि कीर्तिपुरबासी झनै त्रसित बनेका थिए । यसप्रकारको भ्रमित समाचार सामाजिक संजालमा नफैलाउन पनि सम्बन्धित निकायले अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय