STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर नयाँ सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।” अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उहाँको भनाइ छ । अहिले डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्जलगायतबाट पनि उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । ‘‘सेवा प्रभावकारी भए बिरामी आउँछन्’’ उहाँले भन्नुभयो, “हामीले बिरामीलाई गुरु ठानेर सेवा दिने गरेका छौँ ।” अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा उहाँ एक्लैले बिरामी जाँच गर्दै आउनुभएको छ । आगामी वैशाख २६ गतेसम्म क्षारसूत्र सेवा लिने बिरामीको नाम दर्ता गरिसकिएको उहाँको भनाइ छ । ‘‘विशेषज्ञ चिकित्सक म मात्रै छु’’ उहाँले भन्नुभयो, “म एक्लै बिहान ७ देखि राति अबेरसम्म बिरामी जाँच गर्छु, एक्लैले धेरै बिरामीलाई सेवा दिन भने समस्या भएको छ ।” वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०÷१२ जना आउने गरेको डा ठाकुरले बताउनुभयो । उहाँका अनुसार दैनिक तीन÷चारजनाको सफल शल्यक्रिया समेत हुने गरेको छ । ‘‘क्षारसूत्र सेवा लिन दैनिक १०÷१२ जना सेवाग्राही आउने गर्छन्’’, उहाँले भन्नुभयो,“दैनिक तीन÷चार जनाको सफल शल्यक्रिया हुने गरेको छ ।’’ अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताउनुहुन्छ । अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन रु १० हजारभन्दा बढी लाग्ने भए पनि सो चिकित्सालयमा दुई हजार रुपैयाँ मात्रै लाग्ने गरेको डा ठाकुरले बताउनुभयो । चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ । चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि आफु पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताउनुभयो । ‘‘केही दिनअघि मैले पनि चिकित्सालयबाट क्षारसूत्र सेवा लिएको हुँ’’ उहाँले भन्नुभयो,“पहिले सानो समस्याका लागि पनि काठमाडौँं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।” चिकित्सालयमा अहिले ३० श्याको भए पनि यसलाई स्तरोन्नति गरेर ५० श्याको बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय