STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराउनुभयो । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको हो । राजदूत यान्छीले भूकम्पबाट भत्किएपछि विद्यार्थीले स्कूलमा पढ्न नपाएकाले चाँडै नै कक्षा कोठामा पढ्ने वातावरण बनाउनका लागि पुनःनिर्माणको काम दु्रतगतिमा गरिएको बताउनुभयो । “स्कूलको पुनःनिर्माणको काम चाँडै नै सम्पन्न गरेर विद्यार्थीलाई सुरक्षितरुपमा पढ्न पाउने वातावरण तयार हुनेछ”, उहाँले भन्नुभयो, “स्कूल पुनःनिर्माण गरेर नेपालको आधुनिक शिक्षामा सहयोग पुग्नेछ ।” उहाँले चीनको सहयोग नेपालको हरेक क्षेत्रमा हुने भन्दै आर्थिक र सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोग हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छोटो समयमा नै चिनियाँ कम्पनीले स्कूलको पुनःनिर्माण गरेको बताउनुभयो । उहाँका अनुसार दरबार हाइस्कूलसँगै सिन्धुपाञ्चोकमा दुई, रसुवामा दुई र दोलखामा दुई स्कूलको पुनःनिर्माण चिनियाँ सरकारको सहयोगमा भइरहेका छन् । चीनले भूकम्पपछि २५ वटा परियोजनामध्ये छ वटाको काम सम्पन्न भइसकेका छन् भने १९ वटाको काम भइरहेको छ । कार्यक्रममा स्कूलका प्रधानाध्यापक हेमचन्द्र महतोले पुनःनिर्माणपछि विद्यालयलाई पठनपाठनमा सहयोग मिल्ने बताउनुभयो । स्क्ूलको पुनःनिर्माण हुन थालेपछि विद्यार्थी अहिले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा अध्ययन गरिरहेका छन् । “भूकम्पपछि स्कूल भत्किएर पठनपाठनमा समस्या परिरहेको थियो”, उहाँले भन्नुभयो, “अब चाँडै नै पुनःनिर्माणको काम सकेर विद्यार्थी पुनःआफ्नै स्कूलमा पढ्न पाउनेछन् ।” १९१० मा स्थापना भएको दरबार स्कूलमा गत विसं २०७२ को भूकम्पका कारण क्षति पुगेको थियो । भूकम्पपछि विद्यार्थीलाई बाहिर अस्थायी टहरा बनाएर पढाउने गरिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का प्रमुख इमनारायण श्रेष्ठले रु ८० करोड लगानीमा उक्त स्कूलको पुनःनिर्माण गर्न थालेको जानकारी गराउनुभयो । उहाँका अनुसार आउँदो पुसमा चिनियाँ सरकारले हस्तान्तरण गर्नेछ । चिनियाँ कम्पनी सङ्घाइले चिनियाँ सामग्री ल्याएर नै स्कूल पुनःनिर्माण गरेको हो । कार्यान्वयन एकाइका आयोजना उपप्रमुख दिलीप शेखर श्रेष्ठले इँटाबाहेक सबै सामग्री चीनबाट नै ल्याएर बनाइएको जानकारी गराउनुभयो । एकाइले स्कूलका लागि चाहिने सामग्रीको राजस्व छुट गराउनेदेखि कामदारको राहदानी आवेदन गर्ने काम गरेको थियो । पहिले तीन तला रहेको दरबार स्कूल अब चार तलाको ४५ वटा कोठा रहने आयोजना उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माणको काम सकिएकाले अब रङरोगन, विद्युत्लगायत फिनिसिङको काम मात्र बाँकी रहेको छ । तीमध्ये २२ वटा कक्षाकोठा, १४ वटा कम्युुटर, दुई वटा पुस्तकालय, एक कोठा चित्रकला, एक कोठा श्रवणकक्ष, कार्यालयका लागि तीन कोठा, हलका लागि एक कोठा र खाजाका लागि एक कोठा रहनेछन् । दरबार स्कूलमा अहिले भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालय रहेका छन् । अहिले भानु विद्यालयमा १६५ र संस्कृत माविमा २५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
Categorized in राष्ट्रिय