वक्तृत्वकला मूगुठीका नवनिर्वाचित अध्यक्षको आर्थिक व्यवस्था गर्ने प्रतिबद्धता
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ७, शनिबार
बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। नव निर्वाचित अध्यक्ष शाक्य युवावर्गलाई लक्ष्यित गरी बुद्ध धर्मको विकास र विस्तारमा साढे तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। बुद्धवाणी साप्ताहिकका सम्पादक समेत रहनुभएका शाक्य बौद्ध युवा कमिटी ललितपुर र चिन्तनशील युवा समूहका संस्थापक हुनुहुन्छ ।
निर्वाचित भएपछि सभामा शाक्यले आफ्नो कार्यकालमा संस्थाको कार्यालय स्थापना, वर्षेनी वक्तृत्वकला सञ्चालनको लागि आर्थिक सुनिश्चित गर्दै अक्षयकोषको स्थापना गर्ने र सहभागीहरुको आकर्षणको लागि नगद पुरस्कार ५० हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै समितिमा निर्वतमान अध्यक्ष पूर्णराज शाक्य, उपाध्यक्षमा रविन्द्र शाक्य, महासचिवमा मदनरत्न तुलाधर, सचिवमा श्रमिक अवाले, कोषाध्यक्षमा गौतम शाक्य र सहकोषाध्यक्ष कर्ण शाक्य रहनुभएको छ।त्यस्तै कार्यसमिति सदस्यहरु सञ्चित बुद्धाचार्य, सुनीता मानन्धर,दीपक शाक्य, प्रशान्तदेव शाक्य, गौतम शाक्य र अमोघवीर बज्राचार्य हुनुहुन्छ ।
यस अघि सभाको उद्घाटन गर्दै बागमति प्रदेशका सांसद् ज्ञानेन्द्र शाक्यले वक्तृत्वकलाको माध्यमबाट युवावर्गमा बुद्ध शिक्षा प्रवाह गर्न २८ वर्षदेखि सञ्चालन हुँदै वक्तृत्वकलालाई निरन्तरता र स्रोतको दीगोपनाको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष पूर्णराज शाक्यको सभापतित्वमा भएको सो समामा बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्य, ललितपुर महानगरपालिका वडा नं ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, वडा नं १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, लोटर्स रिसर्च सेन्टरका अध्यापक वीरराज शाक्य, स्कोप सहकारीका पूर्वअध्यक्ष किशोरभाई बज्राचार्य, विश्वशान्ति पुस्तकालका पूर्वअध्यक्ष बाबुराजा बज्राचार्य, मूगुठीका पूर्वअध्यक्ष शुक्रराज शाक्य, देवेन्द्र बज्राचार्य बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष सुनील महर्जन लगायतले मन्तव्य राख्नु भएको थियो ।
मूगुठीको आयोजनामा विसं २०५० सालदेखि हरेक वर्ष असार पूर्णिमाका अवसरमा पालैपालो सञ्चालन हुँदै आएको छ भने यो गुठी उपत्यकाव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिसकेको संस्थाहरुको प्रतिनिधिमूलक संगठन हो ।
Categorized in उपत्यका

