STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड–माधव समूहको जनसभा : कसले के के भने ?

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २८, बुधबार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षले आज बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभा टुंगिएको छ ।

सो जनसभामा पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्।

विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन्।

उनले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् । उनले भने,  ‘मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छ । हामी अब योभन्दा धेरै अर्थात १० लाख मानिससहित सिंहदरबार र बालुवाटार घेर्न आउने छौँ।’

यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ‘ग्रिन रिभोल्युसन’ हुन्छ’, उनले भने, ‘१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्। केपीको चुनावी नौटंकी हुनेवाला छैन।’

नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उनको भनाइ थियो ।

ओली पशुपतिनाथको नाम जप्‍न थाले : माधव नेपाल

यसैगरी, नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।

केपी ओलीलाई पशुपतिनाथले माफी दिँदैनन् : माधव नेपाल

दाहाल–नेपाल समूहद्वारा बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।

नेता नेपालले भने, ’केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’

देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए । ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ ।

ओलीको तानाशाही प्रवृत्तिको पतन नभएसम्म आन्दोलन रोकिँदैन : देव गुरुङ

यसैगरी, नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको पतन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जंगे शासनको पुनरावृत्तिको सुरुवात भएकाले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिको पतन नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

"ओलीको तानाशाही प्रवृत्तिको अन्त्य गर्न हामी फेरि एकजुट हुनुपर्ने आवश्यकता छ", उनले भने, "हामीले उनलाई नढाले जंगे शासनको पुनरावृत्ति हुनेछ ।"

अब विद्रोह हुन सक्छ : जनार्दन शर्मा

यसैगरी, नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको कुर्सीसँग संविधान र संघीयता साटेका छन् । तर, यी कुरा साटिन सक्दैन ।’

 

 

उनले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नागरिकहरू हाल आवाज मात्रै लिएर सडकमा आएकोमा आवश्यक परे विद्रोही भएर उपस्थित हुन सक्ने चेतावनी दिए । ‘संविधान मास्न खोज्ने प्रयासप्रति नागरिक अहिले आवाज लिएर आएका छन् । आवश्यक परे विद्रोही भएर आउनेछन्,’ शर्माले भने ।

देश र जनतालाई सबल बनाउने विषय केपी ओलीबाट हुन नसक्ने भन्दै उनले सक्षम नेतृत्व अहिलेको आवश्यकता रहेको बताए । राज्यको संरचना अझै पनि लोकतन्त्रीकरण हुन नसकेको भन्दै शर्माले राज्यका अंगमा लोकतन्त्रीकरणका लागि प्रतिगमनका विरुद्ध संयुक्त रूपमा अघि बढ्न आवश्यक भएको बताए ।

Categorized in राजनीति