STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

वर्षा र सहकाल का देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप पोखरेलले विगतका वर्षमा संस्थाले धेरै पटक तस्वीर प्रदर्शनी गरेको र भविष्यमा अन्य उत्कृष्ट प्रदर्शनी पनि गरिने जानकारी दिनुभयो । “गत वर्ष सङ्ग्रहालयको भ्रमण दुई लाख पर्यटकले गरेको थिए । यस वर्ष गत जेठसम्म दुई लाख २५ हजारले गरिसके”, पोखरेलले भन्नुभयो । सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले केशवनारायण चोकभित्र भएको सो प्रदर्शनीमा मच्छिन्द्रनाथ रथमा प्रयोग गरिने रथको नमूना, पाङ्ग्रा, भैरवको मकुण्डो, कर्कोटनाग अडिएको पाता, हुलाक टिकट, रथ निर्माणमा पाटनवासीले गरेको योगदान, नेवारी परम्परा र रथमा प्रयोग गरिने वस्तुबारे जानकारी दिइने बताउनुभयो । करीब एक हजार तीन सय वर्षदेखि पाटनमा चल्दै आएको नेपालको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको रथजात्रा चिनिन्छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यस वर्ष सङ्ग्रहालय परिषद्ले निर्माण गरेको ‘सङ्ग्रहालय एउटा सांस्कृतिक केन्द्र हो, जसले परम्पराअन्तर्गत भविष्यलाई जोड्छ’ भन्ने नारालाई समर्थन गर्दै स्वदेशी र विदेशी पर्यटक पाटन आउने विश्वास व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा पाटन सङ्ग्रहालय विकास समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले मच्छिन्द्रनाथको जात्रा मानव सभ्यतालाई देव सभ्यतासँग जोड्ने पर्व भएको बताउँदै भन्नुभयो, “यस सङ्ग्रहालयमा थप पर्यटक भित्राउन मन्त्रालयले के के गर्नुपर्छ, सुझाव लिएर आउन अनुरोध गर्दछु ।” सङ्ग्रहालयका पूर्वसदस्य प्रा डा प्रेमकुमार खत्रीले सो प्रदर्शनीबाट नयाँ पुस्ताले मच्छिन्द्रनाथको जात्रा र रथ निर्माणको इतिहास प्राप्त गर्ने बताउनुभयो । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनीले सबै उमेर समूहका मानिसलाई प्रत्यक्ष जात्राको इतिहाससँग जोड्दै लैजाने जानकारी दिनुभयो । सङ्ग्रहालयले पाटनको सबैभन्दा पुरानो बाजा मृदङ्ग बजाएर भजनका साथ कार्यक्रम शुभारम्भ गरेको थियो ।
Categorized in राष्ट्रिय